प्रचण्ड पक्षधरको आरोप, ‘वैद्य र बादललाई फर्कन नदिन बाबुरामलाई पार्टी बुझाउन खोजियो’

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ५:४१ मा प्रकाशित

Hemanta Prakash Oliकाठमाण्डु, २८ मंसिर–आन्तरिक विवादका कारण पछिल्लो ५ महिनायता बस्न नसकेको एकीकृत माओवादी केन्द्रीय समिति बैठक आज बस्दैछ ।

दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण प्रक्रिया, पार्टीको आगामी कार्यदिशा र नेताहरुको कार्यविभाजन तथा महाधिवेशन लगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसैमा छलफल हुने बताइएको छ ।

प्रचण्ड र नेता बाबुराम भट्टराईबीच संगठनात्मक र वैचारिक नेतृत्व बाँडेर लिने सहमति भएपछि लामो समयदेखि अवरुद्ध केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

दुई नेताबीच आगामी एक वर्षभित्र महाधिवेशन गर्ने र महाधिवेशनबाट प्रचण्डले वैचारिक तथा भट्टराईले सांगठनिक नेतृत्व लिने ‘भद्र’ सहति भएको थियो । उक्त सहमति केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी छ ।

प्रचण्ड–बाबुराम सहमतिविरुद्ध संस्थापन पक्षकै नेताले आपत्ति जनाएका छन् । बैठकमा उक्त सहमतिविरुद्ध चर्को आवाज उठाउने तयारी उनीहरुको छ ।

पोलट्ब्यिुरो सदस्य हेमन्त प्रकाश ओलीले दुई नेताबीच भएको पदबाँडफाँडसम्बन्धी सहमति विधि र प्रक्रियाविपरीत भएकाले मान्न नसकिने बताए ।
‘उत्तराधिकारी कसैले घोषणा गरेर र कसैले लिएर हुने कुरा होइन’, वलीले काठमाण्डु टुडेसँग भने, ‘यो कुरा हामी मान्न तयार छैनौं ।’
उनले केन्द्रीय समितिका बहुमत सदस्य उक्त सहमतिको विपक्षमा रहेको बताए ।

उनले पार्टीको वैचारिक र कार्यदिशामा नयाँ शंष्लेषण नगरी नेतृत्व हस्तान्तरणको कुरा अघि सार्नु आपत्तिजनक भएको बताए । चुनवाङ बैठकद्वारा पारित २१ औं शताब्दीको जनवादसम्बन्धी दस्तावेजलाई अपव्याख्या गर्ने काम गरिएको उनको दाबी छ ।

‘२१ औं शताब्दीको जनवादमा नेतृत्व हस्तान्तरणको कुरा भएको साँचो हो’, उनले भने, ‘तर त्यहाँ प्रष्ट लेखिएको छ, कि त्यो पूर्ण कम्युनिष्ट सत्ता आएपछिको अवस्थामा लागू हुने छ ।’ पार्टी संकटमा फसेका बेला मुलुकलाई हाँक्ने क्षमतायुक्त पार्टी निर्माण गर्नुपर्नेमा दुई नेता बसेर ‘केटाकेटीले गुलेली’ खेलाएजस्तो सहमति गरेको उनले बताए ।

बाबुरामलाई वैद्य र थापाले मान्दैनन्
वलीले बाबुरामलाई पार्टी जिम्मा लगाउने सहमतिले माओवादी धारका कम्युनिष्ट पार्टीहरुबीच बन्न लागेको एकताको आधार भत्कने समेत बताए ।

मोहन वैद्य र रामबहादुर थापा बाबुरामको नेतृत्मा पार्टीमा आउन नसक्ने भन्दै उनले सहमतिलाई एकताविरोधीको संज्ञा दिए ।

‘एकातिर एकताको कुरा गर्ने, अर्कोतिर अमुक नेतालाई पार्टीको जिम्मा दिने भन्ने कुरा विरोधाभासपूर्ण छ’, उनले भने, ‘मोहन वैद्य र रामबहादुर थापा बाबुरामलाई नेतृत्व मानेर यो पार्टीमा किमार्थ आउनुहुन्न, एकताको बाटो बन्द गर्न यसो गरियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us