
चरीकोट, २८ मंसिर– दोरम्बामा ११ हजार भोल्टको प्रसारण लाइनको तार चुँडियर गाउँमा बाँडिएको वितरण लाइनमा जुध्दा भएको करेन्ट प्रवाहबाट तीन स्थानीयवासीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोरम्बा–५ का ६५ वर्षीय इन्द्रबहादुर मगर र २५ वर्षीय चण्डेलाल तामाङ तथा दोरम्बा–७ का ६२ वर्षीय अम्बरबहादुर थापा मगर छन् ।
रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार दोरम्बा–७ बोदल र वडा नं ५ को माने गाउँमा वितरण गरिएको बिजुलीको खम्बाको माथिल्लो भागबाट टाँगिएको प्रसारण लाइनको तार चुँडिएको थियो ।
त्यहीँ खम्बाको तल्लो भागबाट टाँगिएको वितरण लाइनमा खप्टिएर गाउँभरि जथाभाबी विद्युत् प्रवाह हुँदा सोे दुर्घटना भएको हो ।
रामेछाप प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार साहका अनुसार राति तार चुँडियलगत्तै जथाभाबी विद्युत् प्रवाह भएको थियो । बिहान उठेर बत्तीको स्विच दबाउँदा गाउँले करेन्ट प्रवाहको दुर्घटनामा परेको उनले बताए । रासस