
जनकपुर, २७ मंसिर– साल नालसहित झाडीमा फालिएका दुई नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ ।
महोत्तरीको खोपी गाविसस्थित बैरिया टोल र धनुषाको महेन्द्रनगरको बीचमा रहेको बाँसघारीमा दुई नवजात शिशु (छोरी) भेटिएको थियो । झाडीमा बच्चा रोएको हेर्न गएका स्थानीयले सालनालसहितको बच्चा देखेपछि प्रहरीमा खबर गरेका थिए ।
धनुषा र महोत्तरीबाट गएको प्रहरी टोलीले उद्धार गरेका दुवै शिशुलाई जनकपुरस्थित सद्गुरु कवीर बालबात्सल्य आश्रममा राखिएको छ ।
त्यसअघि दुवै शिशुको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो ।
अवैध सम्बन्धबाट जन्मिएको वा छोराको आशमा रहेकाहरुले छोरी जन्मेपछि फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भनुषाले जनाएको छ ।