राष्ट्रपति र राजदूतहरुलाई कमल थापाको यस्तो चेतावनी

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १२:२९ मा प्रकाशित

kamal-thapaकाठमाण्डु, २७ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकले नेपालमा नाङ्गो हस्तक्षेप गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा अध्यक्ष थापाले केही सञ्चार माध्यमले पश्चिमाहरुको डलरको प्रभावमा परेर हिन्दू धर्मको बदनाम गर्न लागि परेको आरोप लगाए । ‘केही करोड डलर सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ ?’, थापाले भने, ‘नेपालको संविधानमा यो लेख र ऊ लेख भनेर खटनपटन गर्न पाइन्छ ?’

‘धर्म परिवर्तन गर्ने अधिकार संविधानमै लेख्नुपर्छ भनेर आदेश दिने अधिकार पश्चिमा कूटनीतिक निकायका प्रमुखहरुलाई कहाँबाट आयो ?,’ उनले भने ।

नेपालको सांस्कृतिक, राजनीतिक र धार्मिक अवस्थालाई भाँड्न हस्तक्षेप गर्न नपाइने भन्दै उनले केही दिनयता पश्चिमा मुलुकका राजदूहरुले हिन्दूधर्मको विपक्षमा अभिव्यक्ति दिएकोप्रति आक्रोश व्यक्त गरे ।

राजदूतहरुलाई खुल्ला रुपमा बोल्ने अधिकार कसले दियो ? भन्ने प्रश्न गर्दै उनले त्यस्ता  अभिव्यक्ति तत्काल बन्द गर्न भने ।

थापाले राष्ट्रपति डा. रामबरण यादवले केही दिनअघि सार्वजनिक कार्यक्रममै लोकतन्त्र र धर्म निरपेक्षता परिपूरक हुन् भनेर सस्तो लोकप्रियतामा आधारित अभिव्यक्ति दिएकोप्रति कडा आपत्ति जनाए ।
उनले भने, ‘राष्ट्रपतिजस्तो पदबाट यस्तो कुरा अभिव्यक्त हुनु सुहाउने कुरा होइन । उहाँ त धर्म निरपेक्ष र हिन्दुराष्ट्र चाहेने दुबैको साझा हुनुपर्छ ।’

उनले व्यवहारिक रुपमा राष्ट्रपति यादवले हिन्दूराष्ट्रको भूमिका निर्वाह गरेको बताउँदै भने, ‘इन्द्रजात्रा र शिवरात्रीमा राष्ट्रप्रमुखका रुपमा सहभागी बन्नुहुन्छ तर सस्तो लोकप्रियताका लागि किन यस्तो अभिव्यक्ति दिनुभयो ?’

थापाले राष्ट्रपति यादवले लोकतन्त्र र धर्म निरपेक्षता परिपूरक भनेर गलत बोलेको समेत आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us