
काठमाण्डु, २७ मंसिर– फोरम अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चामा रहेका दलहरु सत्तामा जान हतारिएको भन्दै आक्रोश पोखेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै यालदवले मधेसी जनतालाई सत्तामा जाने भर्याङ नबनाउन चेतावनी दिएका हुन् ।
फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई एमाले अध्यक्ष केपी ओलीले उपप्रधानसहित रक्षा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेलगत्तै यादवको यस्तो प्रतिक्रिया आएको हो ।
कसैको नाम उल्लेख नगरी मधेसमा सत्ता र धनका लागि दल खोलेका अवसरवादी, भ्रष्टाचारी र सत्तालोलुप वर्ग मधेसी जनताले बलिदानबाट प्राप्त गरेको उपलब्धी समाप्त पार्न सत्तामा जाने घृणित खेलमा लागेको आरोप लगाएका छन् ।
‘मधेसी जनअधिकार फोरम नेपाललाई षड्यन्त्रपूर्ण ढंगले सत्ता र धन प्राप्तिका लागि विभाजित गरी गठन भएका दलहरु र पछि मधेसका नाममा खोलिएका र विभाजित भएका अन्य दलहरुका अवसरवादी, भ्रष्टाचारी एवम् सत्तालोलुप नेतृत्व वर्ग मधेसीको त्याग, तपस्या, बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरुलाई सरकारमा जानका लागि वा सत्ता प्राप्तिका लागि समाप्त पार्ने घृणित खेलमा लागेका छन्’, यादवले विज्ञप्तिमा भनेका छन् ।
यादवले मधेसी जनतका मुद्दालाई सत्तामा जाने भर्याङका रुपमा मात्र उपयोग गर्नु र शासक वर्गको चाकडी गर्नुलाई देश र जनतालाई धोखा तथा सहिरुलाई अपमान गर्नु भएको उल्लेख गरेका छन् ।