
काठमाडौँ, २७ मंसिर–पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भई देशभर चिसो बढेको छ ।
अरब सागरबाट पाकिस्तान, जम्बु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई विभिन्न स्थानमा पानी परेको मौसमविद् राजाराम ढकालले बताए ।
पश्चिमी वायु पूर्वसम्म विस्तार हुने क्रममा रहेको र बेलुकासम्म देशैभर प्रभाव पार्नुको साथै काठमाडौँमा बेलुकादेखि पानी पर्ने सम्भावना रहेको उनले उल्लेख गरे ।
मौसमविद् ढकालका अनुसार पश्चिमी वायुको प्रभाव आगामी मङ्गलबार दिउँसोसम्म जारी रहने र बेलुकादेखि मौसममा सुधार आउनेछ । आज पश्चिम नेपालका वीरेन्द्रनगर, धनगढी र नेपालगन्जमा हल्का वर्षा भएको छ । पूर्वी भेगमा भोलि बेलुकादेखि पानी पर्नेछ ।
मौसममा बदली भई पानीसमेत पर्ने हुनाले केही दिन तापक्रम घट्ने र काठमाडौँसहित देशभर चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम न्यूनतम ४ दशमलव ५ तथा अधिकतम १५ डिग्री सेल्सियस रहेको छ ।
मौसम बदली भई चिसो बढ्दा आज उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका कतिपय स्थानमा बिहानैदेखि सर्वसाधारण झुन्ड भएर आगो तापिरहेको देखिन्थे । रासस