छ वर्षदेखि डाक्टर बेपत्ता

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ६:४९ मा प्रकाशित

जाजरकोट, २७ मंसिर–जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् ।

सप्तरी जिल्लाको बेलही गाविस–६ घर भएका डा धनिकलाल यादव २०६५ साल माघ २२ देखि अहिलेसम्म बेपत्ताको सूचीमा रहेका हुन् ।

जाजरकोटको जिल्ला अस्पतालमा २०६३ साल असार १९ मा हाजिर भएका डा यादव  २०६५ माघ २२ देखि बेपत्ताको सूचीमा रहेका छन् ।

जिल्ला अस्पतालले उनलाई सातपटकसम्म हाजिर हुन सप्तरी घरको ठेगानामा चिठी लेखे पनि उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

विसं २०६८ मङ्सिर १९ गते गोरखापत्रमा सूचना प्रकाशित गरी जिल्ला अस्पतालले  डा यादवलाई अस्पतालमा हाजिर हुन भन्दै सात दिनको मिति राखेर सूचना प्रकाशित गरेको थियो ।

विसं २०६५ देखि अहिलेसम्म डा यादव सम्पर्कमा नभएको भनी जिल्ला अस्पतालले क्षेत्र र विभागलाई तीनपटक प्रमाणपत्रसहित चिठी लेखे पनि विभाग, क्षेत्रले सो चिठी जिल्ला अस्पतालमा फिर्ता गरिदिएको छ ।

विभाग र क्षेत्रले डा यादवलाई कार्बाही गर्नुको साटो उल्टै जिल्लामा सो चिठी फिर्ता गरिदिएपछि जाजरकोटको जिल्ला अस्पताल अचम्ममा परेको एक कर्मचारीले बताएका छन् ।

उनी कहाँ छन् कसैलाई थाहा छैन । डा यादवको पद खाली पनि नहुने, काम पनि नगर्दा जाजरकोटका नागरिकले दुःख पाएका छन् ।

जिल्ला अस्पताल जाजरकोटमा हाजिर भएर पनि २०६३ देखि २०६५ सम्मको बीचको समयमा उनी नेपालगन्ज, सुर्खेतको अस्पतालमा काजमा काम गरेको देखिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us