
धनगढी, २७ मंसिर– सेती अञ्चल अस्पताल धनगढीमा आइसियु (सघन उपचार कक्ष) सञ्चालनका लागि स्थानीय समाजसेवीले नगद सहयोग उपलब्ध गराएका छन् ।
हाल जारी सुदूरपश्चिममा क्षेत्रीय औद्योगिक, पर्यटन, कृषि र व्यापार मेलाका क्रममा विभिन्न क्षेत्रका व्यक्तिबाट आइसियु कक्ष सञ्चालनका लागि सहयोग जुटिरहेको मेला आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
आइसियु कक्ष स्थापनाका लागि समाजसेवी राजबहादुर सिंहले एक लाख, भागेश्वर ग्रुपका सञ्चालक एवम् सङ्घका कोषाध्यक्ष शङ्कर बोगटीले एक लाख एक हजार एक सय ११ प्रदान गरेका छन् ।
नेपाल प्रेस युनियनका सेती अञ्चल संयोजक जगत साउदबाट छ हजार सहयोग प्राप्त भएको छ ।
मेला आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले टिकट बिक्रीबापत प्रत्येक टिकटबाट दुई अञ्चल अस्पतालमा आइसियु स्थापनाका लागि छुट्याउने अभियान थालेसँगै अन्य व्यक्तिले पनि सहयोग गरिरहेका छन् ।
आइसियु स्थापनापछि गम्भीर अवस्थाका बिरामीको उपचारमा सहजता आउने चिकित्सकहरुले बताएका छन् ।
यता सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गणेशबहादुर सिंहले अस्पतालमा आइसियु स्थापनाका लागि आवश्यक जनशक्तिसहित करिब १३ करोड प्रस्ताव गरिएकामा सरकारबाट यस वर्ष एक करोड बजेटको अख्तियारी आएको जानकारी दिँदै आगामी वैशाख महिनाबाट आइसियु सञ्चालनको प्रयास गरिने बताए ।
विसं २०४० मा जिल्ला अस्पतालबाट अञ्चल अस्पताल बनेको सेती अञ्चल अस्पताल हाल सुदूरपश्चिमको प्रमुख अस्पतालका रुपमा रहेको छ ।
सरकारी र अस्पतालको आन्तरिक स्रोतसमेतबाट हाल १७० शय्या सञ्चालनमा रहेको सेती अञ्चल अस्पतालमा नाक, कान, मानसिक रोग, छाला रोगको उपचारका लागि विशेषज्ञ चिकित्सकको अझै पनि अभाव रहेको डा सिंहले बताए ।
रासस