
जनकपुर, २७ मंसिर– जनकपुरवासीले सरकारसँग शिक्षा, विद्युत, सडक र सिचाई दिनु पर्दैन भनेर प्रश्न गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग जनकपुरद्वारा संसदिय निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजत सेवा प्रदायक र उपभोक्ताबीच सिधा सवाल कार्यक्रममा सेवाग्राहीले अवस्था नाजुक रहेको भन्दै गुनासो गरेका हुन् ।
सरकारी विद्यालयको पठनपाठनको स्तर खस्किँदै गएको, विद्यालयका शिक्षक पठनपाठनभन्दा पनि राजनीतिमा लाग्ने गरेको, विद्यालयले अनावश्यक शुल्क लिने गरेको, स्वास्थ्यचौकीमा म्याद समाप्त भएको औषधि राख्ने गरिएकोतर्फ ध्यानाकर्षण गराइएको थियो ।
अपाङ्ग भत्ता समयमा वितरण नगरिएको, नहर अभावका कारण अनिकाल परेको र नीगाईले समस्या उत्पन्न गरेको सहभागीले गुनासो गरे । राहदानी बितरणलाई सरल बनाउनुपर्ने र ग्रामीण सडक स्तरोन्नति गर्नुपर्ने माँग राख्दै उनीहरुले सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो पनि गरे ।