पोखरामा पर्वतीय महोत्सव सम्पन्न

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते २:३९ मा प्रकाशित

पोखरा, २७ मंसिर अन्तर्राष्ट्रिय पर्वतीय दिवस एवं चोयु हिमाल आरोहण हीरक जयन्तीको अवसरमा पर्वतीय संग्रहालय पोखरामा सञ्चालित तीनदिने पर्वतीय महोत्सव २०७१ शुक्रबार सम्पन्न भयो ।

Quiet Pokhara - Nepal's most famous resort (6)

नाफामूलक नभई नवीनतम ज्ञान, सीप र प्रविधिको विकास गर्ने उद्देश्यले नेपाल पर्वतारोहण संघद्वारा आयोजित सो महोत्सवको करिब २० हजार दर्शकले अध्ययन अवलोकन गरेका थिए । पर्वतीय खेल छेलो, तारो, साइकल क्रिडा, विद्यार्थीको पाँच किमी दौडका साथै हिमाल आरोहणसम्बन्धी वृत्तचित्र तथा अन्तक्र्रिया एवंं मनोरञ्जनतर्फ दोहोरीगीत र विभिन्न जातजातिका वेशभूषा तथा सांस्कृतिक कार्यक्रम महोत्सवका मुख्य आकर्षक रुपमा रहेका थिए ।

महोत्सवमा इसिमोड, प्रकृति संरक्षण कोष, लिवर्ड, वन विज्ञान तथा इन्जिनियरिङ अध्ययन संस्थान, लुम्ले कृषि अनुसन्धान केन्द्र, कफी बोर्डका स्टल एवं विभिन्न परिकारका खानासहित ३६ स्टल थिए ।

शुक्रबार आयोजित तारो हान्ने खेलमा नेपाल छन्त्याल संघ कास्की प्रथम, अमर दीप क्लब द्वितीय र नेपाल मगर संघ कास्की तृतीय भए । प्रतियोगिमामा १४ टोलीका ४२ जनाको सहभागिता थियो । त्यसैगरी छेलो हान्ने प्रतियोगितामा निरज गुरुङ, टेक गुरुङ र टीका गुरुङ क्रमश: प्रथम, द्वितीय र तृतीय भए ।

महोत्सवअन्तर्गत १० किमिको साइकल क्रिडामा सुमन गुरुङ प्रथम, जगत डोली द्वितीय र प्रज्ज्वल केसी तृतीय भए । सो प्रतियोगितामा १० विदेशीसहित ५५ जनाको सहभागिता थियो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले समापन समारोहमा प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको विचार व्यक्त गरे ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us