
काठमाण्डु, २६ मंसिर– नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सरकारका कामकारबाही र संविधान निर्माण प्रक्रियामा पार्टी नेतृत्वको एकल निर्णयप्रति चर्को आलोचना भएको छ ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सदस्यहरुले सरकार र पार्टी सञ्चालनमा नेतृत्व तानाशाही भएको आरोप लगाए ।
सरकारका काम कारबाही र संविधान निर्माणका जटिल विषयमा केन्द्रीय समितिसँ सल्लाह नगरी सीमित व्यक्तिले पार्टीको नाममा निर्णय गर्नु अलोकतान्त्रिक भएको उनीहरुको भनाइ थियो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार गठन भएको ११ महिना बित्दासमेत तीन पटक मात्र केन्द्रीय समिति बैठक बसेको र संविधानका महत्वपूर्ण निर्णयमा दुई/चार जना नेता बसेर पार्टीको नाममा निर्णय लिनु अलोकतान्त्रिक पद्धति भएको बताए ।
‘भोलि माघ २७ गते शनिबार सरकार गठन भएको ११ महिना पुग्छ’, केसीले भने, ‘यसबिचमा जम्मा तीन पटक केन्द्रीय समितिको बैठक बसेको छ ।’
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले सदाचारी प्रधानमन्त्रीका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
भण्डारीले वर्तमान सरकारका मन्त्रीहरु अहिलेसम्मकै सबैभन्दा भ्रष्ट भएको बताए । केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री कोइराला स्वयम् भ्रषटाचारीको संरक्षक बनेको आरोप लगाए ।
‘सदाचारी प्रधानमन्त्री भएका बेला मुलुकमा थप भ्रष्टाचार बढेको छ’, गुरुङले भने, मन्त्रीहरु तस्करीमा लागेका छन् ।’
बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, शङ्कर भण्डारी, कमला पन्त, प्रदीप पौडेललगायतले बोलेका थिए ।