
काभ्रे, २६ मंसिर– सम्पत्ति विवरणमा तीन थान मोबाइल मात्रै सार्वजनिक गरेका प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको दाबी गरेका छन् ।
हिन्दू मान्यतामा घरबार त्यागेको र मायामोहबाट माथि उठेको सन्यासीलाई जोगी भनिन्छ । आफूलाई कुनै राजनीतिक लाभको मोह नभएको भन्ने अर्थमा प्रधानमन्त्रीले आफैलाई ‘जोगी’ उपाधि दिएका हुन् ।
काठमाडौँ विश्वविद्यालय धुलिखेलको २० आँै दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने, ‘म राजनीतिमा लागेको ५५ वर्ष भइसक्यो, राजनीतिमा लागेर देशका लागि सेवा गरौँ भन्ने लागेको छ ।’
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले अनेक यातना सहेर यो स्थितिसम्म आइपुगेको भन्दै अहिलेको आफ्नो अवस्थालाई गौरवको विषयका रुपमा चर्चा गरे । उनले बाँकी जीवन शिक्षा तथा मुलुक र जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अहिले बाधकको रुपमा रहेको बौद्धिक पलायन रोक्नुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री कोइरालाले देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको बताए ।
उनले अर्को फरक प्रसङ्गमा संविधान निर्माणका लागि संवाद, सहमति र सहकार्य दलहरुको बीचमा भइरहेको जिकिर गर्दै अखवारहरुले भ्रम फैलाएको आरोप लगाए । उनले निर्धारित समयमा नै संविधान आउनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे ।
विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले विभिन्न चुनौती हुँदाहुँदै पनि देशका युवाका लागि अवसरका नयाँ सम्भावना सुनिश्चित हुने कार्यक्रम विस्तारका दिशामा प्रयत्नशील भएको उल्लेख गर्दै कडा मिहिनेत र सहकार्य गर्ने संस्कार नभएकाले सफलताप्रतिको चाहना र उत्साह घटेको जिकिर गरे ।
प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका वरिष्ठ लोकसंस्कृतविद् डा. सत्यमोहन जोशी स्वास्थ्यका कारण अनुपस्थित रहेको सो कार्यक्रममा उनको दीक्षान्त भाषण प्रा. सञ्जयनाथ उपाध्यायले बाचन गरेका थिए । सो भाषणमा शिक्षा र संस्कृति भिन्नाभिन्नै विषय भए पनि दुईबीचको अन्तरसम्बन्धले हाम्रो शिक्षा प्रणालीमा नयाँ आलोक ल्याइदिन्छ भन्ने उल्लेख छ ।
विभिन्न विधाका कुल एक हजार २४६ जना स्नातक दीक्षित भएको सो कार्यक्रममा चान्सलर स्वर्णपदक र जुद्धबहादुर स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी श्रद्धा पन्त, भाइसचान्सलर स्वर्ण पदकबाट स्कुल अफ आर्टसका रविन डङ्गोल र रणबहादुर शाह स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी विद्या शर्मालाई प्रदान गरिएको थियो ।
यसअघि चिकित्सक विधाका १ हजार ३७ जना दीक्षित भएका थिए ।