
काठमाण्डु, २६ मंसिर– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले बहुमतको दम्भ देखाएर सत्तारुढ दलले संविधान जारी गर्न खोज्दा गतिरोध उत्पन्न भएको बताएका छन् । उनले आन्दोलनहरुबाट प्राप्त उपलब्धि संस्थागत नगरी संविधान नबन्ने दाबी समेत गरे ।
शुक्रबार पार्टीको मुखपत्र ‘संघीय समाजवाद’ सार्वजनिक गर्दै अध्यक्ष राईले आफ्नो पार्टी रहरले नभई बाध्यताले जन्मिएको विचार व्यक्त गरे । राईले हिजो दुई तिहाईले पारित गरेका कतिपय निर्णयलाई नमान्ने दल काँग्रेस र एमालेले अहिले बुहमत प्राप्त गर्ने बित्तिकै दम्भी भएको आरोप लगाए ।
राईले भने, ‘ठोस पहलकदमी भएको भए माघ ८ गते होइन, असोज ८ गते पनि संविधान जारी गर्न सकिन्थ्यो, तर उहाँहरुले खाली ज्योतिषको गणनाजस्तो माघ ८ गतेको साइत प्रस्तुत गर्नुभयो तर सहमतिको लागि ठोस कदम चाल्नुभएन ।’
राईले सत्तारुढ दलले आफ्नै पार्टीभित्र समेत सहमति गर्न नसकेको भन्दै संविधानको विषयमा त सहमति गर्न झनै कठिन भएको बताए ।
समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मुखपत्र तयार पारिएको बताए ।