भारतीय राजदूतले किन रोपे लुम्बिनीको निषेधित क्षेत्रमा रुख ?

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १०:४९ मा प्रकाशित

रुपन्देही, २६ मंसिर– लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने युनेस्को र पुरातत्व विभागद्वारा अति जोखिमयुक्त घोषणा गरिएको संरक्षित क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर नजिकै हालै भारतीय राजदूत रञ्जीत रेसहितको टोलीले बोधिवृक्ष रोपेको विषयमा विवाद सिर्जना भएको छ ।

ranjit ray
विश्वसम्पदा सूचीमा रहेको पुरातात्विक हिसाबले अति जोखिमयुक्त क्षेत्र घोषणा गरिएको स्थानमा कुनैपनि वृक्ष रोप्न नपाइने प्रावधान भएपनि भारतीय पक्षले ठाडो बेवास्ता गर्दै मायादेवी मन्दिरको १०० मिटरको दूरीमै वृक्षरोपण गरेको थियो ।

सरकारका दुईवटा मन्त्रालयबीच तालमेल मिल्न नसक्दा बुद्ध जन्मस्थल लुम्बिनीको पवित्र उद्यानको निषेधित क्षेत्रभित्र बोधिवृक्ष रोपिएको लुम्बिनी विकास कोषको उच्च स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले संस्कृति मन्त्रालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषसँग समन्वय नै नगरी मायादेवी मन्दिर परिसरमा बोधिवृक्ष रोप्न भारतीय पक्षलाई एकतर्फी रुपमा वृक्षरोपण गर्न पत्र दिएपछि युनेस्कोले अति जोखिमयुक्त क्षेत्र घोषणा गरेको क्षेत्रभित्र भारतीय राजदूतले बोधिवृक्ष रोपेको बुझिएको छ ।

लुम्बिनीको पवित्र बाटिकाभित्र रहेका ४२ वटा प्लटमध्ये बोधिवृक्ष रोपिएको प्लट अति नै जोखिमयुक्त र महत्वपूर्ण क्षेत्र भएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।

पवित्र बाटिका बाहिरको ट्रि प्लान्टेसन जोनमा रोप्नुपर्नेमा युनेस्कोले बेलाबेलामा उत्खनन गरिरहेको मायादेवी मन्दिर नजिकै बोधिवृक्ष रोपिँदा यसले ठूलो समस्या निम्त्याउने चिन्ता कोषले व्यक्त गरेको छ ।

कोषका अनुसार लुम्बिनी विकास कोषका उच्चस्तरका पदाधिकारीले सम्झाउँदा सम्झाउँदै पनि भारतीय पक्षले बलजफती बोधिवृक्ष रोपेको हो ।

सम्राट अशोकका धर्मदूत महेन्द्र र संघमित्राले बोधगयाबाट लगी श्रीलङ्काको अनुराधापुरमा रोपेको र २०५२ सालमा श्रीलङ्काको अनुराधापुरबाट बुद्धले ज्ञानप्राप्त गरेको सोही बोधिवृक्षलाई तत्कालीन समयमा पनि लुम्बिनीको पवित्र बाटिकाभित्र रोप्न नदिई पवित्र बाटिका बाहिर रोप्न दिइएको थियो । यसपटक भारतीय टोलीले कसैको कुरा नसुनी अति जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गर्यो ।

युनेस्को, पुरातत्व विभाग र लुम्बिनी गुरुयोजनाले मायादेवी मन्दिरमा असर पर्ने भन्दै आसपासमा रहेका अन्य वृक्षसमेत काट्न निर्देशन दिएका बेला सोही स्थानमै वृक्ष रोपिंदा ठूलो समस्या आएको पुरातत्वविद्हरुले बताएका छन् ।

संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पुरातत्विक हिसाबले उच्च जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गरिएको भए त्यसलाई त्यहाँबाट अन्यत्र सार्नुपर्ने बताए ।

उनले नियमकानुन विपरीत वृक्षरोपण गरिएको भए त्यसलाई हटाइने बताउँदै पिपलका जराले ठूलो असर गर्ने भएकाले यसलाई त्यहाँबाट हटाइहाल्नुपर्ने विचार व्यक्त गरे ।

KR_Sidharthnagar_Ambassador ranjit rae

वृक्ष रोपेपछि सामूहिक फोटो खिचाउँदै राजदूत रे । फोटो : रासस

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पुरातत्व विभागले पुरातात्विक क्षेत्र घोषणा गरेका क्षेत्रभित्र कुनैपनि खालको वृक्ष रोप्न नमिल्ने बताए ।

उहाँले भारतीय राजदूतले रोपेको बोधिवृक्ष कहाँ रोपियो भन्ने आफूलाई यकिन नभएको बताउँदै मायादेवी मन्दिर, अशोक स्तम्भ र अति जोखिमयुक्त पुरातात्विक क्षेत्रमा वृक्षरोपण गर्न नहुने बताए ।

उहाँले बोधिवृक्ष रोप्ने कार्यलाई विवादमा नल्याउने गरी अन्य राष्ट्रका राष्ट्र प्रमुखहरुले रोप्दै आएको स्थान ‘सर्कुलर लेवि’ बाहिरको दक्षिणपट्टि लगेर रोपिएको भए निकै राम्रो सन्देश जाने बताए ।

युनेस्कोका पुरातत्व परामर्शदाता तथा पुरातत्वविद् कोषप्रसाद आर्चायले संवेदनशील क्षेत्रमा बोधिवृक्ष रोपिएको भए त्यो कार्य उचित नभएको बताए ।

‘युनेस्कोले लुम्बिनी क्षेत्रभित्रको अति जोखिमयुक्त क्षेत्रलाई समेटेर ‘रिक्स म्याप’समेत बनाएर आफ्नो काम गरिरहेको छ, त्यही म्यापभित्रै त्यो बोधिवृक्ष रोपिएको भन्ने खबर आएको छ,’ पुरातत्व विज्ञ आर्चायले भने, ‘यदि त्यसो हो भने त्यसले लुम्बिनीको संरक्षणलाई ठूलो असर पुर्याउँछ ।

पिपलको जराले निकै ठूलो नोक्सान गर्ने हुँदा यसको विकल्प खोज्नुपर्ने जानकारहरुको भनाइ छ । तीन्चार सय वृक्षभन्दा बढी वृक्ष बाँच्ने र ५० मिटरभन्दा बढी जराहरु फैलने पिपलको रुख रोप्न नहुने उनीहरु बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनमा नेपाल आएका बेला लुम्बिनीमा आएर बोधगयाबाट ल्याएको बोधिवृक्ष रोप्ने कार्यक्रम थियो ।

सो कार्यक्रम स्थगित भएपछि बुधबार राजदूत रेले बोधिवृक्ष रोपेका थिए । भारतीय प्रधानमन्त्रीका लागि रोप्ने भनी तय गरिएको स्थानभन्दा पनि मायादेवी मन्दिर नजिक गएर उनले बोधिवृक्ष रोपेका हुन् ।

मोदीका लागि त्यतिबेला मायादेवी मन्दिरदेखि उत्तर ५०० मिटर टाढा वृक्षरोपण गर्ने स्थान तय भएको थियो । लुम्बिनी आउने उच्च व्यक्तिहरुका लागि वृक्षरोपण गर्ने स्थान छुट्टै रहेको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयसँग समन्वय नै नगरी परराष्ट्र मन्त्रालयले मायादेवी मन्दिर नजिकै वृक्षरोपण गर्न दिने पत्र पठाएपछि कोषले नचाहँदा नचाहँदै वृक्षरोपण गर्न दिनुपरेको बताएको छ ।

नेपाल सरकारको सचिवस्तरीय निर्णयअनुसार वृक्षरोपणका लागि उपयुक्त स्थान निर्धारण गरी आवश्यक व्यवस्थापन गर्न कोषलाई स्वीकृति दिएको थियो ।

यसअनुसार कोषले मायादेवी मन्दिरको परिसर बाहिर वृक्षरोपणका लागि स्थान तोकेको थियो तर भारतीय पक्षले परिसर बाहिर वृक्षरोपण नगरी भित्रै गर्ने भन्दै दबाब दिएपछि मायादेवी मन्दिर नजिकै बोधिवृक्ष रोपिएको बताइन्छ ।

‘बरु हामी बिरुवा नै रोप्दैनौँ फर्किन्छौँ भनेपछि बाध्य भएर रोप्न दियौँ,’ कोषको उच्च स्रोतले भन्यो । मन्दिर नजिकै रोपिएको वृक्ष ठूलो भएपछि २५/३० मिटरसम्म त्यसको जरा फैलने हुँदा मायादेवी मन्दिर, अशोक स्तम्भ लगाएका संरचनामा ठूलो असर पार्ने चिन्ता कोषको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us