
सुर्खेत, २६ मंसिर– सवारी दुर्घटनामा दिनहुँ सर्वसाधारणको मृत्यु भएको भन्दै प्रहरीले कडाइ गरेपछि व्यवसायीले दोश्रो दिन शुक्रबार पनि यातायात बन्द गरेका छन् ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारी नचल्दा सर्वसाधारण हिंडेरै गन्तब्यमा पुग्न बाध्य छन् ।
ट्राफिक प्रहरीले सुरु गरेको चेकजाँच रोक्न र पक्राउ परेका आफ्ना मजदुर रिहा गर्न माग गर्दै सुर्खेत र नेपालजञ्जका व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रा गराउनेसहित ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीले २३ जना चालकविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
कालिकोटबाट कैलालीको टिकापुरतर्फ आउँदै गरेको ना ४ ख ६८५७ नम्बरको बस गत आइतबार कर्णाली राजमार्गको कालिखोला भन्ने स्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
त्यसपछि प्रहरीले जथाभावी गाडी चलाउनेविरुद्धको कारबाही थालेको हो ।