
काठमाण्डु, २६ मंसिर– एमालेले पोलिटब्युरो सदस्य सहमतिमा चयन गर्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलको कार्यदलले एक कार्यकाल केन्द्रीय कमिटीमा रहेका व्यक्ति उम्मेदवार हुन पाउने योग्यतासम्बन्धी प्रस्तुत गरेको प्रस्ताव पारित गरेपछि निर्वाचन प्रक्रिया प्रारम्भ गरेको हो ।
केन्द्रीय कमिटी बैठक अगाडि पदाधिकारी बैठकले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई सहमति जुटाउने जिम्मेवारी दिएपनि सहमति हुन नसकेपछि निर्वाचनको प्रक्रिया प्रारम्भ भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।
उनले आजै मनोनयनपत्र दर्ता, दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन भई निर्वाचन सम्पन्न हुने बताए ।
केन्द्रीय सदस्य डा राजन भट्राईकाअनुसार सहमतिको सम्भावना न्यून भएकाले निर्वाचन प्रक्रिया प्रारम्भ भएको बताए ।
नवौँ राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्वमा समावेशीकरणसहित एक सय ५९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको थियो ।
यसमा वरिष्ठ नेता झलनाथ खनाल तथा केन्द्रीय अनुशासन आयोग र सल्लाहकार परिषद्का अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
कमिटीको एक तिहाइ सदस्य पोलिटब्युरोमा चयन हुनेछन् । त्यसमा १६ पदाधिकारी पदेन हुनेछन् भने २३ पूर्ण र १५ जना वैकल्पिक पोलिटब्युरो सदस्य हुनेछन् ।
पोलिटब्युरो चयन भएपछि स्थायी कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीको बैठक शनिबार पुनः बस्नेछ ।