
काठमाण्डु, २६ मंसिर–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका आधारमा नै आगामी माघ ८ गतेभित्र संविधान जारी गराउनु आफ्नो पार्टीको महत्वपूर्ण कार्यभार भएको बताएका छन् ।
जनजाति आन्दोलनका अगुवाहरुसँग आज बिहान आफ्नै निवास लाजिम्पाटमा भएको छलफलमा उनले पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि प्रयत्न जारी रहेको उल्लेख गरेका छन् ।
संविधान निर्माणको आधार विगतमा दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सम्झौता नै हो भन्दै उनले ती सम्झौतामा नेपाली काँग्रेस र नेकपा(एमाले) प्रतिबद्ध रहन सक्छन् कि सक्दैनन् भन्ने विषय नै यतिखेरको सङ्गीन प्रश्न भएको धारणा राखे ।
नागरिक समाजका अगुवा एवम् जनजाति नेता पद्यमरत्न तुलाधर, मल्ल के सुन्दर, ओम गुरुड, सुरेश आले मगरलगायतले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि कुनै पनि सम्झौता नगर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थियो । रासस