
सिन्धुपाल्चोक, २६ मंसिर– नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले आफ्ना पूर्वनेता मोहन वैद्य असक्षम नेता भएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको चौतारामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले वैद्यले सिद्धान्तका मात्र कुरा गरेर काम नगरेको आरोप लगाए । राजनीति र सिद्धान्त फरक विषय भएको उनको भनाइ थियो ।
उनले माओवादी आन्दोलनको रक्षाका लागि वैद्यसँग विग्रोह गरेको बताए । ‘इमान्दार, सोझो र सिद्धान्तनिष्ठ हुँदैमा राजनीतिमा सफल भइँदैन’, विकले भने, ‘सिद्धान्तको कोरा कुरा गरेर क्रान्ति हुँदैन ।’
विकले आफूहरुले युद्ध नगर्ने पनि प्रष्ट्याए । आफूहरुले युद्ध गर्न नभई माओवादी आन्दोलनको अस्तित्व जोगाउन मात्र नयाँ पार्टी गठन गरेको उनको भनाइ थियो । उनले मिडियाले युद्ध गर्न लागेको भन्दै अनावश्यक रुपमा उछालेको जिकिर गरे ।