अपहृत यातायात व्यवसायीक अझै फेला परेनन्

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ७:३७ मा प्रकाशित

लहान, २६ मंसिर– करिब एक महिनाअघि अपहरणमा परेका सिरहा लहान नगरपालिका–३ का यातायात व्यवसायी गुरुदयाल महतोको अवस्था अझै सार्वजनिक भएको छैन ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पंसेरा गाविसस्थित अमहा नजिकैबाट गत कात्तिक २९ गते अपहरणमा परेका महतोको अवस्था हालसम्म सार्वजनिक नभएको हो ।

आफ्नो निजी गाडी भाडा लगाउने र गाडीसमेत आफँै चलाउने महतो सो दिन लहानबाट गाडीमा यात्रुलाई लिएर इटहरी गएका थिए । इटहरीबाट फेरि यात्रुलाई लिएर फर्किने क्रममा साँझ ७ बजेबाट सम्पर्कविहीन भएको अपहृतका दाजु रामदयालले जानकारी दिए ।

साँझमा घर फर्किने भनेका भाइ रातभरि घर नफर्केपछि खोज्दै जाँदा उनी चढेको गाडी अमहा नजिकै बेवारिसे अवस्थामा फेला परेपछिमात्र उनी अपहरणमा परेको थाहा भएको दाजु रामदयालल बताय ।

उनले भाइको जीवनरक्षा र सकुशल रिहाइका लागि पहल गरिदिन सबैसँग आग्रह गरेकाछन् ।

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले गुरुदयालको अपरहणबारे अनुसन्धान गर्न सिरहा र सप्तरीका प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिए ।

अनुसन्धानको नजिक पुग्न लागेकाले छिट्टै अवस्था सार्वजनिक गरिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us