काठमाण्डु, २६ मंसिर– विभिन्न दल सम्वद्ध ६ विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालयमा चरम आर्थिक अनियमितता भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।
उनीहरुले अन्तरिम समयका लागि हालै नियुक्त उपकुलपति शिरीष रिजालले विश्वविद्यालयलाई दीर्घकालिन असर पर्ने गरी आर्थिक चलखेलमा लागेर पदाधिकारी तथा कर्मचारी नियुक्त गरेको आरोप लगाएका छन् ।
यस्तै विश्वविलयबाट सम्बन्धनप्राप्त सप्तरीस्थित युनिक सफ्ट टेक क्याम्पसमा प्रश्नपत्र किनबेच गरेको, अख्तियारको निर्देशनविपरीत इन्जिनियरिङ र हेल्थ साइन्स मा दोश्रो प्रवेश परीक्षा नलिन दिएको निर्देशन अवज्ञा गरेको, छात्रवृत्ति रकममा चरम अनियमितता गरी लाखौं विद्यार्थीलाई छात्रवृत्तिबाट बञ्चित गराइएको लगायतका आरोप उनीहरुले लगाएका छन् ।
‘विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी कुनै न कुनै रुपमा आर्थिक अनियमिततामा संलग्न भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा एमाले सम्बद्ध अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालयकी इन्चार्ज सुनिता बराल, एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालय संयोजक गोपाल न्यौपाने, नेविसंघ अध्यक्ष उज्जवलराज घिमिरे, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका संयोजक विजयदेव भट्टराई, फोरम लोकतान्त्रिक निकट मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका मोरङ अध्यक्ष लवकुमार यादव र तमलोपा समर्थित तराई मेधस विद्यार्थी फन्टका मोरङ अध्यक्ष श्रीराम साह छन् ।
विज्ञप्तिमा उनीहरुले हालै नियुक्त विश्वविद्यालयका पदाधिकारी र कर्मचारीको नियुक्ति बदर, आर्थिक अनियमितताका दोषीमाथि कारबाही तथा सबै संकायका विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिनुपर्नेलगायत ६ बुँदे माग अघि सारेका छन् ।
उनीहरुले आफूहरुका माग पूरा नभए आन्लोलनमा उत्रन बाध्य हुने भन्दै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी विश्वविद्यालय प्रशासनको हुने चेतावनी दिएका छन् ।