खोटाङ, २५ मंसिर– जिल्लाको दक्षिणी गाविस वाप्लुखामा प्रहरी चौकी र कुटानीपिसानी मिल एउटै भवनमा सञ्चालन गर्दा समस्या भएको छ ।
प्रहरी चौकीको आफ्नै भवन नभएपछि मिल राखिएको विद्यालयको भवनमा प्रहरी चौकीसमेत सञ्चालन गर्दा दैनिक कामकारबाहीमा समस्या भएको चौकीका इन्चार्ज प्रहरी हबलदार लालचन राजवंशीले बताए ।
उनले भने, ‘चौकीमा कतिपय कुरा गोप्य पनि हुन्छ, मिलमा आउने सर्वसाधारणको भीडभाड र मिलको आवाजले ज्यादै असर परेको छ ।’ एकै ठाउँ राखिएको मिलको आवाज र सर्वसाधारणको भीडले प्रहरी चौकीलाई असर गर्ने भएपछि कुटानीपिसानीको काम चाहिँ हप्ताको एक दिन शनिबार मात्र गर्ने गरिएको स्थानीय विष्णु विष्टले जानकारी दिए ।
उनले भने, ‘यसमा राज्यले चाँडोभन्दा चाँडो व्यवस्था गर्नुपर्छ ।’ यसबारे सम्बन्धित निकायमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । उनले भने, ‘भवन निर्माण नभएसम्मका लागि अन्य कुनै ठाउँमा कोठा भाडा लिएर भए पनि त्यस ठाउँबाट सार्ने तयारीमा लागेका छौँ ।’
विद्यालयको एउटा मात्र कोठा रहेको उक्त भवनमा कोठाबाहिर एउटामा प्रहरी चौकी र एउटामा मिल सञ्चालन गरिएको छ । प्रहरी सहायक निरीक्षकको कोटा रहेको उक्त चौकीमा प्रहरीलाई ठाउँ अभावका कारण खान, बस्न र सुत्न बस्नसमेत समस्या भएको छ ।
द्वन्द्वको समयमा भवन ध्वस्त भएपछि हटाइएको उक्त प्रहरी चौकी पुनः २०६८ सालमा पुनः स्थापना गरिएको थियो । तीन वर्षअघि पुनः सञ्चालनमा आएको उक्त चौकीको समस्याका बारेमा हालसम्म कसैको ध्यान नपुगेको स्थानीयको भनाइ छ ।
स्रोतका अनुसार उक्त प्रहरी चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा खरिदसमेत गरिएको छ । चौकीको नाममा जग्गा भए पनि भवन निर्माणका लागि कुनै पहल नभएको स्थानीयवासीको गुनासो छ ।