
काठमाण्डु, २६ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ६० वर्ष पूरा गरी ६१ वर्षका भएका छन् ।
उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा बुवा मुक्तिराम र आमा भवानीका पहिलो सन्तानका रुपमा भएको थियो ।
जन्मदिनको अवसर पारेर कुनै कार्यक्रम भने नराखिएको उनका स्वकीय सचिव चुडामणि खड्काले बताए । ‘जन्मदिनको केही कार्यक्रम छैन’, उनले भने, ‘थाहा पाउनेहरुले केहीले भेटेर र केहीलाई फेनबाटै बधाई भनेका छन्, दिनभरि राजनीतिक काम र दस्तावेज लेखनमै बित्छ ।’
प्रचण्ड २८ मंसिरदेखि बस्ने केन्द्रीय समिति बैठकको दस्तावेज लेख्न व्यवस्त छन् ।
दश वर्षे सशस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड २०६५ भदौ २ गते गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । तर प्रधानसेनापति प्रकरणका कारण उनले २०६६ वैशाख २१ गते पदबाट राजीनामा दिए ।