होटेलमा बास, ट्याक्सी चढेर चोरी

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १:०७ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– चोरी गर्नेहरुको जीवनशैली कस्तो हुन्छ ? जवाफ हुन्छ, ‘सामान्य खान लाउन नपुगेरै त चोरी गरेका हुन् ।’ तर होइन, अचेल चोरी गर्नेहरु होटेलमा बस्ने, अनि ट्याक्सी चढेर चोरी गर्ने तथ्य खुलेको छ । यति मात्रै होइन चोरी गरेर ल्याएको पैसा क्याबिन रेस्टुरेन्टका युवतीहरुलाई प्रेमिका बनाएर उडाउने गरेका छन् ।

यिनीहरु पछिल्लो दुई महिनामा राजधानीका १४ स्थानबाट झन्डै ४५ लाख बराबरको धनमाल चोरी गरेका छन् । त्यसरी चोरी गर्दै हिँड्ने १० जनाको समूहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ परेकामा सशस्त्र प्रहरी बलका जवानदेखि १६ वर्ष उमेर नपुगेकाहरु छन् । तीमध्ये एकबाहेक बाँकी सबै उदयपुर कटरीका हुन् ।

पक्राउ परेका दोलखाका सुवास नेपाली, उदयपुरका अस्विन थापामगर, दीपक भन्ने चन्द्रबहादुर बस्नेत, प्रवेश तामाङ, चन्द्रबहादुर श्रेष्ठ, दोर्जे भन्ने विशाल राई र अजय पुरी छन् । बाँकी तीन जना युवराज कार्की, रुपेश कार्की र बिक्रम बस्नेतलाई उदयपुर नै पुगेर पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैे दुई महिनायता पुरानो बसपार्कस्थित स्वागतम् होटेलमा दुई वटा कोठा लिएर बस्दै आएका थिए ।

दिउँसोको समयमा ताला फोड्ने र काट्ने सामानहरु सहित हिँड्ने गरेका उनीहरुले फरक–फरक ठाउँमा चोरी गरेका थिए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us