
लमजुङ, २५ मंसिर– अर्थमन्त्री रामशरण महतले कामका लागि विदेश नजान युवाहरुलाई आग्रह गरेका छन् ।
लमजुङको दुराडाँडास्थित श्रीपाणिनी संस्कृत माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक समारोहमा महतले सिप र जाँगर भए सानै काम गरेर पनि स्वदेशमै पर्याप्त लाख लिन सकिने बताएका हुन् । युवाहरुलाई विदेश जाने सोच त्यागेर कृषिमा लाग्न उनको सुझाव छ ।
‘जाँगर भए स्वदेशमै पर्याप्त लाभ लिन सकिन्छ’, महतले भने, ‘कृषि क्षेत्रमा अपार सम्भावना छ, विदेश जाने मनस्थिति त्यागेर यतै काम गर्नुस् ।’ उनले युवाहरुलाई रोजगारी दिन सरकारले ६ प्रतिशतको सस्तो ब्याज दरमा कृषि कर्जाको व्यवस्था गरेको बताए ।
महतले रुद्राक्ष र अम्रिसो बेचेर नेपालमै लाखौं आम्दानी गर्ने युवाहरु यहीं रहेको भन्दै उनले विदेश नजान भने ।
‘बजारका लागि गाउँगाउँसम्म बाटो बनिसकेको छ’, उनले भने, ‘नेपाल भौगोलिक विविधताले भरिएको मुलुक हो । यहाँ हरेक किसिमका कृषि उपजहरु उत्पादन हुन सक्छन । अहिले ज्ञान पनि छ । प्रविधि पनि छ । अब खेती गर्ने जाँगर चाहिएको छ ।’
अर्को फरक प्रसंगमा उनले तोकिएकै समयमा संविधान जारी गर्ने बताए ।