
काठमाण्डु, २५ मंसिर– नेपाल आर्य समाजले आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुसलमान तथा उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चत गरी जतिसक्दो चाँडो संविधान जारी गर्न आग्रह गरेको छ ।
समाजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी संविधानसभाबाहिर रहेका असन्तुष्ट दल तथा फरक मत राख्ने समूहलाई समेत विश्वासमा लिएर निर्धारित समय माघ ८ भित्रै सहमतीय संविधान जारी गर्न आग्रह गरेको हो ।
समाजका महासचिव यादवबहादुर खकुरेलले मुलुकमा मौलाउँदै गएको हत्या, हिंसा, बलात्कार, अपहरण, भ्रष्टाचार, महँगी र असुरक्षाको अन्त्य गरी देशलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको बाटोमा अगाडि बढाउन जतिसक्दो छिटो संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।
जनताले हत्या हिंसाभन्दा पनि धार्मिक, जातीय, लैङ्गिक, क्षेत्रीय, वर्गीयलगायत सबै प्रकारका विभेदको अन्त्य गरी समतामूलक समाजको परिकल्पना गरेको हुँदा त्यसका लागि सबै नेपालीको भूमिका उत्तिकै रहने उनको भनाइ थियो ।