
रुपन्देही, २५ मंसिर– श्रीमति पोइल गएको रिसमा ससुरा हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा रामप्रसाद थारु छन् । ३५ वर्षीय थारु ससुरा श्यामसुन्दर थारुको हत्या गरी फरार भएका थिए ।
भारत भाग्ने तयारी गरिरहेका बेला उनलाई तालिमप्राप्त कुकुरको सहायतामा भैरहवाको बर्मेली टोलबाट पक्रन सफल भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
रामप्रसादले मंगलबार राति घरमा कोही नभएको मौकामा श्यामसुन्दरको काठ चिर्ने आरोले घाँटी रेटी हत्या गरेका थिए ।
हत्यारा पक्रन रुपन्देही प्रहरीले पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट ‘ज्वाला’ नाम गरेको कुकुर झिकाएको थियो ।
ढकालका अनुसार रामप्रसादले घटनामा संलग्नता स्वीकार गरिसकेका छन् । दुई वर्षअघि प्रेम विवाह गरेका रामप्रसाद र गंगामाया थारुबीच गत साता सम्बन्ध बिच्छेद भएको थियो ।
सम्बन्ध बिच्छेद गरी अन्तै बिहे गर्न उक्साएको भन्दै रामप्रसादले ससुरा हत्या गरेको अनुमान प्रहरीले गरेको छ ।