
सुर्खेत, २५ मंसिर– सुर्खेतका यतायात मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा मजदुरले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको भन्दै प्रहरीले मंसिर २३ गते दर्जनाैँ गाडी र चालकलाई नियन्त्रणमा लिएपछि यातायात मजदुरले यातायात बन्द गरेका हुन् ।
प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेका ५० भन्दा बढी गाडीसहित चालक तथा सहचालकलाई नियन्त्रण लिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएका चालक तथा सहचालकमध्ये केहीलाई रिहा गरेको छ भने १३ जना मजदुरमाथि सार्वजनिक मुद्दा लगाएको छ ।
प्रहरीमाथि अपशब्द प्रयोग गर्ने १३ जना मजदुरमाथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । नेपाल यातायात मजदुर सङ्घले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नियन्त्रणमा लिएका सबै चालक तथा सहचालकलाई बिनासर्त रिहा नगरे बन्दलाई निरन्तरता दिने चेतावनी दिएको छ ।
सङ्घका राष्ट्रिय उपाध्यक्ष गोपालकृष्ण गिरीले सिटबराबर यात्रु बोकेर हिँडेको सवारीलाई यात्रुले बाटोमा रोकेर जबर्जस्ती गाडी चढ्ने गरेको भन्दै मजदुरले बाटोमा जबर्जस्ती चढ्ने यात्रुलाई प्रशासनले कारबाही गर्नुपर्ने माग राखे ।
यता जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएका गाडी चालक तथा सहचालकलाई सात दिन म्याद थप गरी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही प्रक्रिया थालिसकेको जनाएको छ ।
बसको क्षमताभन्दा बढी बोकेका कारण सुर्खेत र जाजरकोटमा बस दुर्घटना भएपछि प्रहरीले जाँचलाई कडा पारेको हो । सुर्खेतमा यातायात बन्द भएपछि यात्रु समस्यामा परेका छन् । बाहिर जिल्लाबाट आएका यात्रु बसपार्कका अलपत्र छन् ।
रासस