
बागलुङ, २५ मंसिर– कार्यालय चलाउन खर्च अभावको कारण देखाउँदै साझा प्रकाशनको बागलुङ शाखा बन्द गरिएको छ । वर्षौंदेखि सरल र सुलभ मूल्यमा पुस्तक बिक्री वितरण गर्दै आएको शाखाले आइतबारदेखि नै दैनिक सेवा बन्द गरेको छ ।
अर्थाभावका कारण कार्यालय सञ्चालन गर्न कठिनाइ भएपछि बागलुङलगायत अन्य जिल्लाका शाखा हटाउन लागिएको बुझिएको छ । विसं २०३२ मा स्थापना भएको बागलुङ शाखाले बिक्री केन्द्र खोलेर पाठकलाई आफ्नै र अन्य प्रकाशनका समेत गरी विभिन्न विधाका पुस्तकहरु बिक्री गर्दै आएको थियो । बर्सेनि छुट योजना ल्याएरसमेत पाठक आकर्षित गर्ने काम साझाले गरेको थियो ।
बागलुङ शाखालाई क्षेत्रीय कार्यालय पोखरामा गाभिने भएको शाखा प्रमुख शिवराम शर्माले बताए । यहाँ रहेका पुस्तक सार्ने तयारी भइरहेको प्रमुख शर्माले जानकारी दिए । हाल साझामा करिब २५ लाख मूल्यबराबरका पुस्तक छन् । स्थापनाकालमा पाँचजना कर्मचारीबाट सेवा सुरु गरेको शाखाले पछिल्लो समय दुईजना कर्मचारीबाट सेवा दिँदै आएको थियो ।
कर्मचारीलाई पनि क्षेत्रीय कार्यालय पोखरा नै बोलाइएको साझा प्रकाशनले जनाएको छ । यसअघि २०४३ सालमा पनि क्षेत्रीय कार्यालयमा गाभिएको यस शाखाले पुनः २०४५ सालदेखि निरन्तर रुपमा सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय अन्य प्रतिस्पर्धी प्रकाशन गृहको स्थापना र पुस्तकको बजार विस्तारका कारण साझा प्रकाशनप्रति पाठकको आकर्षण घट्दै गएको थियो ।
साझा प्रकाशनले आर्थिक सङ्कट पनि झेल्दै आएको समाचार यसअघि पनि बाहिर आउने गरेको थियो । नयाँ पुस्तक बजारमा पाइए पनि पुराना लेखकका छानिएका कृति पाइने साझा प्रकाशनको बिक्री केन्द्र बन्दले पाठक मर्कामा पर्ने देखिएको छ । साझाले विद्यालयस्तरका पाठ्यक्रमको पुस्तक पनि बिक्री गर्ने गरेको थियो ।
रासस