
चौतारा, २५ मंसिर– भदौ ७ गते गएको पहिरोले क्षतिग्रस्त सिन्धुपाल्चोकको स्याउले–१ कातर्चेस्थित एक विद्यालयको भवन विदेशी संस्थाले निर्माण गरिदिने भएको छ ।
पहिरोले मङ्गला भैरव प्राथमिक विद्यालय भवनभित्रको जमिन फाटेर चिरा चिरा परेको छ । साथै तलतिरबाट पहिरोले तानेर क्षतिग्रस्त बनेको यस विद्यालयको सात कोठे भवन जापानस्थित एसिया फ्रेन्डसिप नेटवर्कले निर्माण गरिदिने भएको हो ।
पहिरोले क्षतिग्रस्त विद्यालयको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रकाशमा आएपछि संस्थाका अध्यक्ष इसिमारो योजिरोले हालै स्थलगत निरीक्षण गरेका थिए । त्यसबेला उनले विद्यालयको नयाँ भवन निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कक्षा ५ सम्म अध्ययन गराइने विद्यालयका छात्रछात्रालाई हाल सुरक्षित स्थानमा रहेको सार्वजनिक जमिनमा टहरो निर्माण गरी अध्यापन गराउने काम भइआएको छ छ ।
साविकको स्थानमा पठनपाठन गर्न सम्भव नभएको र हाल निर्माण गरिएको अस्थायी छाप्रो अपायक पर्ने भएकाले विद्यार्थी सङ्ख्यामा समेत कमी आएको विद्यालयका प्रधानाध्यापक रुपबहादुर घलेले बताए ।
विद्यालय भवन निर्माणमा लाग्ने रकम प्राविधिकको लागत अनुमानको आधारमा पूरै नेटवर्कले व्यहोर्ने नेपालस्थित संस्थामा आबद्ध प्रेम बानियाँले जानकारी दिए ।
रासस