तीन आचार्य जोडीद्वारा विद्यालयलाई एक लाख ४१ हजार

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते ८:४६ मा प्रकाशित

प्युठान, २५ मंसिर– प्युठानको एक विद्यालयमा रु एक लाख ४१ हजार १११ को विद्यालय अक्षय कोष स्थापना भएको छ । रम्दी–१ तिग्राको वागिश्वरी निम्न माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र शिक्षाको पहुँचमा आउन नसकेकालाई शिक्षाको पहुँचमा ल्याउन भन्दै अक्षयकोषको स्थापना गरिएको हो ।

सोही विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका स्थानीय तीनजनाको जोडीले अक्षयकोषको स्थापना गरिएको विद्यालयले जानकारी दिएको छ ।

रम्दी घर भएका तथा हाल काठमाडौँ महानगरपालिका वडा नं ३२ मा बस्दै आएका डिल्लीराज आचार्य र कमला आचार्यले आफ्ना हजुरबुबा मेघनाथ आचार्य, बुबा नागेश्वर आचार्य र आमा क्वारीदेवी आचार्यको नाममा रु एक लाख ११ हजार १११ राशिको विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।

त्यस्तै विद्यालयमा उनीहरुले पुस्तकालय र भौतिक पूर्वाधारका लागि भन्दै थप रु २० हजार आर्थिक सहयोगसमेत गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपाराम आचार्यले जानकारी दिए ।

त्यसैगरी सोही विद्यालयमा स्थानीय टोपाराम आचार्य र जमुना आचार्यले आमाबुबा रेशमराज र पितम्बरा आचार्यको स्मिृतिमा रु २० हजार राशिको रोशन पितम्बरा स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

उनीहरुले २०६८ सालबाट कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्दै आएका हुन् ।

सोही विद्यालयमै भुवनेश्वरी उच्च मावि खैराका प्राचार्य शङ्कर आचार्यले बुबा नेत्रविनोद आचार्य र आमा देवादेवी आचार्यको स्मृतिमा रु १० हजार राशिको नेत्रदेवा स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

सोही विद्यालयमा प्रावि तहको अध्ययन गरेका यी तीनजनाको जोडीले विद्यालयमा कुल रु एक लाख ४१ हजार १११ को अक्षयकोष र रु २० हजारको भौतिक पूर्वाधारमा विद्यालयलाई सहयोग गरेको व्यवस्थापन समिति अध्यक्ष आचार्यले बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us