
कास्की, २५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुमा मात्रै सक्रिय छैन । यसको पश्चिमाञ्चल कार्यालय, पोखरामा पनि आर्थिक वर्ष २०७०/०७१ मा एक हजार ३२ वटा उजुरी परेका छन् ।
अख्तियारका उपसचिव लोकमणि बस्यालका अनुसार तीमध्ये १३१ फर्सयाेट भएको छ भने सातवटा मुद्दा विशेष अदालतमा दायर भएका छन् । उनका अनुसार अख्तियारको क्षेत्रीय कार्यालय पोखराले यही अवधिमा विभिन्न मुद्दामा तोकिएको बिगो र जरिवाना रु ३४ लाख राजस्व सङ्कलन गरेको छ । पोखरा विश्वविद्यालयमा भएको अनियमितता पश्चिमाञ्चलमा भएको सबैभन्दा ठूलो भ्रष्टाचारजन्य मुद्दा हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पश्चिमाञ्चल प्रमुख शङ्करबहादुर थापाले घरेलु समस्यादेखि ठूला भ्रष्टाचारका मुद्दाको उजुरी पनि अख्तियारमा पर्ने गरेको जानकारी दिँदै यो वर्ष क्षेत्रीय कार्यालयबाट सोचेभन्दा बढी काम हुने जिकिर गरे । निजी क्षेत्र, न्यायालय, गैरसरकारी संस्था, सेनाको अनुसन्धान अख्तियारको दायरामा नआउँदा सोचे अनुसार भ्रष्टाचार हुने क्षेत्रहरुमा प्रवेश गर्न नपाएको अख्तियारका अधिकारीहरुको गुनासो रहेको छ ।
आयोगको क्षेत्रीय कार्यालय पोखराले सार्वजनिक निकायमा हुने अनुचित वा भ्रष्टाचारजन्य कार्यको सूचना दिन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । अख्तियारमा सञ्चारका जुनसुकै माध्यमबाट आएका उजुरीको पनि सुनुवाइ हुने जानकारी दिँदै क्षेत्रीय कार्यालय पोखराले भ्रष्टाचारमा शून्य सहनशीलतालाई मार्गदर्शन सिद्धान्त मानेको जानकारी दिएको छ ।
रासस