काठमाण्डु, २५ मंसिर– सरकारले भारतीय योग गुरु स्वामी रामदेवलाई पतञ्जली योगकेन्द्रका विभिन्न उत्पादनको उद्योग खोल्न नि:शुल्क जग्गा उपलब्ध गराउने भएको छ ।
भारत भ्रमणमा रहेका उद्योगमन्त्री महेश बस्नेतले रामवेदलाई सरकारी जग्गा उपलब्ध गराउने भएका हुन् ।
बस्नेतसँग हरिद्वारमा हालै भएको भेटमा रामदेवले नेपालमा पतञ्जली केन्द्रसहित उद्योग खोल्न लागेको र त्यसका लागि जग्गा चाहिएको बताएका थिए ।
आफूले बाराको विशेष आर्थिक क्षेत्र ‘सेज’ को जग्गामा पतञ्जली योग केन्द्र बनाउन जग्गा उपलब्ध गराउने बचन दिएको बस्नेतले काठमाण्डु टुडेलाई बताए ।
उनले सेजको स्वामित्वमा रहेका ८ सय बिघामध्ये ६ सय बिघा जमिन रामदेवलाई उपलब्ध गराउने बचन दिएको समाचार अनलाइनखबर डटकममा प्रकाशित भएको छ ।
‘सेजको नाममा करिब साढे आठ सय बिघा जग्गा छ, त्यसमध्ये पाँच/छ सय बिघामा पतञ्जलीका सबै उत्पादन गर्न आग्रह गरें’ मन्त्री बस्नेतले भने ।
स्वामी बाबा रामदेवले बाराको सेजलाई मिनी हरिद्वारका रुपमा स्थापित गर्न चाहेको बस्नेतलाई बताएका थिए ।