
बागलुङ, २५ मंसिर– लगानी र मिहिनेतअनुसार नेपाली हातेकागजले मूल्य नपाएपछि उद्यमी निरास बनेका छन् । जिल्लाको तमान गाविसमा कुनै बेला फस्टाएको हाते कागजको उत्पादन अहिले ह्वात्तै घटेको छ । दर्जनौँ उद्यमीले चलाएको हातेकागज उद्योग अहिले बन्द भएका छन् । एकाध व्यक्तिले मात्रै हाते कागज बनाइरहेका छन् ।
बजार मूल्य भनेजस्तो नभएपछि उद्यमीहरु निरुत्साहित बनेको स्थानीय इन्द्रकुमारी बुढाले बताए । धनमायाँ छन्त्याललगायतका केहीले मात्र हातेकागज उद्योग चलाएका छन् । कागज बनाउन प्रयोग हुने लोक्ता पनि अभाव हुन थालेको छ, लोक्ता निकाल्ने मजदुर पनि पाइन छोडेको छ । लगानी नै उठ्न छोडेपछि कागज बनाउन छोडेको तमान–५ का झकबहादुर बुढाले बताए ।
कागज बनाउन चाहिने कच्चा पदार्थ र प्रविधिको मूल्य बढेको तुलनामा कागजको बजार मूल्य नपाउँदा स्थानीय उद्यम नै छोड्न बाध्य भएको बुढाको भनाइ छ । बागलुङका लागि एक गाउँ एक उत्पादन कार्यक्रममा नेपाली हातेकागज छनोट भए पनि यसको मुख्य उत्पादन हुने ठाउँमै व्यवसाय प्रवद्र्धन हुन सकेका छैन । तमानमा यसअघि साना किसान बैंकले उद्यम प्रवद्र्धनको काम गर्दै आएकामा अहिले बैंकले पनि हात झिकेको छ ।
कागज बेच्दाभन्दा लोक्दा ल्याउन, कास्टिक सोडा, तावा, फ्रेमजस्ता कच्चापदार्थ र प्रविधि जोड्दै बढी खर्च हुने गरकोे उद्यमी बताउँछन् । बागलुङ जिल्ला हातेकागजको जिल्ला पनि भनेर चिनिए पनि यसको उचित प्रवद्र्धन हुन सकेको छैन । उद्यमीहरु कागजले मूल्य नपाएको भनेर गुनासो गरिरहेका छन् । रासस