धनगढी, २५ मंसिर- धनगढी नगरपालिका–४ बाट एक व्यक्तिलाई बुधबार साँझ प्रहरीले पुरातात्विक महत्वको अष्ठधातु बुद्धको मूर्तिसहित पक्राउ गरेको छ ।
स्थानीय मिठ्ठू स्वाँरको घरमा तीन करोडको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा क्षेत्रीय अपराध अनुसन्धान समूह सेती, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गरेको खानतलासीका क्रममा झन्डै ११ किलोको अष्ठधातु बुद्धको मूर्ति फेला परेपछि मूर्तिसहित स्वाँरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै पशुकरणी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका धनगढी नगरपालिका–१ का हरिनारायण दाहाललाई पक्राउ गरिएको छ । जिल्ला अदालत कैलालीले १० वर्षअघि दाहाललाई उक्त मुद्दामा जरिवानाको फैसला सुनाएको थियो ।
यसैगरी अदालतबाट दोषी ठहर भई एक वर्षदेखि फरार सम्बन्धविच्छेद मुद्दाका धनगढी–१ कै जोगरी चौधरी, १८ वर्षदेखि फरार वन मुद्दाका कोटातुल्सीपुर गाविसका मिठ्ठु भन्ने धनबहादुर कामी, उर्मा गाविसका जितबहादुर चौधरी र नरेश चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतको जिम्मा लगाइएको छ ।
रासस