सोलार किन्न नसक्दा कोठामै थन्किए कम्प्युटर

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते ४:३५ मा प्रकाशित

कालिकोट, २५ मंसिर– विद्यालयमा कम्प्युटर शिक्षाका लागि प्रदान गरिएका कम्प्युटर सोलार जडान गर्न नसक्दा कोठामा थन्किएका छन् ।

जिल्ला शिक्षा कार्यालय कालीकोटले आर्थिक वर्ष २०७०/०७१ मा जिल्लाका माध्यमिक विद्यालयका लागि पहिलो चरण कम्प्युटर खरिदका लागि रु १ लाख ४० हजार प्रदान गरी अधिकांश विद्यालयले खरिद गरेका कम्प्युटर विद्युत् आपूर्ति नभएको र महँगो रकममा सोलार खरिद गर्न नसक्दा कम्प्युटर सञ्चालनमा ल्याउन नसकिएको कालासिल्ला माविका प्रधानाध्यापक सन्तराज शाहीले बताए ।

उनका अनुसार जिल्ला शिक्षा कार्यालयले कम्प्युटर खरिदका लागि मात्र रकम दिएका कारण कम्प्युटरका लागि चाहिने पावर विद्यालयको क्षमताले धान्न नसक्ने भएकाले कम्प्युटर सञ्चालनमा ल्याउन नसकिएको हो ।

कार्यालयले कम्प्युटर खरिद लागि रकम मात्र नभई प्रत्येक विद्यालयबाट एक/ एक जना कम्प्युटर प्राविधिकलाई समेत तालिम दिइसकेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा समेत थप निम्नमाध्यमिक विद्यालय, प्राथमिक विद्यालयसम्म कम्प्युटरका लागि रकम हस्तान्तरण गर्ने लक्ष्य रहेको जनाएको छ । जिल्लामा ४ क्याम्पस, २४ उच्च मावि, २८ मावि, ६० निमावि र १ सय ७८ प्रावि रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us