वीरगन्ज, २५ मंसिर– समाजका उपल्लो जातका भनिएका व्यक्तिहरुले दलितले पानी रिस गरेर सार्वजनिक पानीको चापाकलको धारा खोलेर लुकाइदिएपछि पर्साको एक गाउँमा खानेपानीको हाहाकार भएको छ ।
जिल्लाको बैरियाबिर्ता गाविस–५ नौतजका स्थानीय उपल्लो जात भनिएका केही व्यक्तिले सोही ठाउँमा रहेको धारा खोलेर लगेपछि सो ठाउँका दलितलगायतका स्थानीय खानेपानीको सुविधाबाट वञ्चित भएका हुन् । मंसिर ८ गते स्थानीय लक्ष्मी राउत डोमले धाराको पानी खाएको भन्दै स्थानीय केही व्यक्तिले धारा खोलेर लगेपछि खानेपानीको अभाव भएको स्थानीयले बताएका छन् ।
सो स्थानमा रहेको मठमा राखिएको सार्वजनिक चापाकलको पानी खाएको भन्दै स्थानीय बह्मदेव यादव, चोकट यादवलगायतले आफूलाई धम्कीसमेत दिएको पीडित डोमले बताए । पानी खाएकै कारण आफूलाई उनीहरुले दण्डित गर्ने प्रयास गरेको भए पनि आफूले कुनै पनि हालतमा कुनै जरिवाना नतिर्ने अडान लिएपछि धारा नै खोलेर लगेको पीडित डोमको भनाइ छ ।
पीडित डोमका अनुसार कथित उपल्लो जातको भनिएका व्यक्तिले सार्वजनिक धारा खोलेर लगेपछि स्थानीयहरु नदीको दूषित पानी पिउन बाध्य भएका हुन् ।
आफूहरुले त्यही धाराको पानी पिउने गरेको र अहिले धारा खोलिदिएपछि आफूहरु मारमा परेको भन्दै नाजा सहनीले पटक–पटक धारा जडान गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको बताए ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक अनिल घिमिरेले आफूले धारा जडान गर्न निर्देशन दिइसकेको र तत्काल धारा जडान हुने जानकारी दिए । रासस