भक्तपुर, २५ मंसिर– राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकार रक्षाका लागि आयोगले ६ वर्षे रणनीतिक योजना बनाउन लागेको बताएका छन् ।
६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपाल बार एसोसिएसन भक्तपुर, मानव अधिकार समितिलगायत विभिन्न संस्थाले संयुक्त रुपमा बुधबार भक्तपुरमा आयोजना गरेको मानव अधिकार विषयक कार्यक्रममा उनले सो कुरा बताएका छन् ।
आयोगले घरघरमा मानव अधिकार रक्षाका लागि बनाउन लागेको रणनीतिक योजनाका लागि देशभरको मानव अधिकारको अवस्थाका बारेमा बुझ्न जिल्ला–जिल्लामा टोली परिचालन भइसकेको जानकारी उनले दिए । उनले आयोगका पदाधिकारी नियुक्ति भएको सय दिनभित्रै श्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताए ।
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीले फौजदारी न्यायलाई व्यवस्थित रुपमा लैजानुपर्ने र साबिती बयानकै आधारमा मात्र न्याय दिने परम्परालाई सुधारेर लैजानुपर्नेमा जोड दिए ।
समितिका उपसंयोजक किरण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसन भक्तपुरका अध्यक्ष कमलराज थापालगायतले मानव अधिकार हनन्का घटना चुनौतीपूर्ण बन्दै गएकाले यसलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता औंल्याए । रासस