अभियानकै क्रममा महिला आयोगमा हिंसासम्बन्धी १२ घटना दर्ता

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते २:५५ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा राष्ट्रिय महिला आयोगमा हिंसासम्बन्धी १२ घटना दर्ता भएका छन् ।

अभियानको अन्तिम दिन बुधबार आयोगमा भएको समापन कार्यक्रममा आठ घरेलु हिंसा र चार महिला हिंसाका घटना दर्ता भएको आयोगका सदस्य उर्मिलादेवी विश्वकर्माले बताइन् । साइबर अपराधका घटना बढिरहेको र त्यसमा महिलापीडित रहेको देखिएको भन्दै उनले यस अपराधसम्बन्धी स्पष्ट र कडा कानुनको आवश्यकता रहेको बताइन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले यस अभियानले महिला हिंसाविरुद्ध सक्रियताका साथ काम गर्ने र जिम्मेवार हुने बताए ।

महिला हिंसाविरुद्ध कानुनी सहयोग गर्ने संस्था ल्याकका तर्फबाट साधना श्रेष्ठले ‘लैङ्गिक हिंसा निवारणमा गैरसरकारी संस्थाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै ल्याकले विभिन्न जिल्लामा हिंसामा परेका महिलालाई गर्दै आइरहेको सहयोगका बारेमा जानकारी दिइन् ।

‘घर शान्ति नै विश्व शान्तिको आधार : महिला हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गरौं’ भन्ने मूल नाराका साथ सो अभियान सुरु भएको थियो । सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा विभिन्न २० देशका २३ महिलाको एक समूहले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us