महिलाहिंसा अन्त्यको माग

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते २:४६ मा प्रकाशित

काठमाण्डु, २५  मंसिर– महिलाविरुद्ध हुने हत्या, हिंसालगायत सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालद्वारा बुधबार काठमाण्डुमा आयोजित ‘आन्तरिक शान्ति तथा महिला सशक्तीकरणका लागि आध्यात्मिकता’ विषयक प्रवचन कार्यक्रमका वक्ताहरुले पछिल्लो पटक महिलामाथि हुने हत्या, हिंसा झन् मौलाउँदै गएको भन्दै त्यसलाई सबै मिलेर अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।

महिला मन्त्रालयका सचिव धनबहादुर तामाङले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गरी हत्याहिंसा मुक्त समाजको निर्माण गर्नुपर्ने बताउँदै महिलाविरुद्धको हिंसा अन्त्य गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रजापिता ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयका वरिष्ठ राजयोगी प्रतिक्षितका ब्रह्मकुमारी उषाले हत्याहिंसा मुक्त समाजको निर्माण गर्दै आध्यात्मिक चिन्तनको संस्कारलाई विकास गर्नुपर्नेमा जोड दिइन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिए तापनि मुलुकका विभिन्न स्थानमा दाइजो, अन्तरजातीय विवाह वा घरायसी कलहका कारण महिलामाथि हुने हिंसामा कमी आएको पाइँदैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us