प्यूठानमा साठी प्रतिशत नापतौल नियमविपरीत

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते २:३८ मा प्रकाशित

प्यूठान, २५ मंसिर– जिल्लाका अधिकांश स्थानमा गुणस्तर तथा नापतौल विभाग कार्यालयबाट प्रमाणित नभएका ढक/तराजु प्रयोग हुने गरेको फेला परेको छ ।

naptaul

खुद्रा पसलदेखि तरकारी पसलमा र दैनिक उपभोक्ताले उपभोग गर्ने वस्तुहरु किन्दा प्रयोग गरिने नाप मापनअनुसारको नभएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

जिल्लाको अधिकांश व्यापार सम्बन्ध बुटवलबाट हुने र नाप तौलको क्षेत्रीय कार्यालय नेपालगन्ज भएकाले पनि यसको समस्या बढी भएको क्षेत्रीय कार्यालयका अनुगमन निरीक्षक गुरुप्रसाद पोख्रेलले बताए ।

हरेक दुई/दुई वर्षमा प्यूठानमा आफूहरु नापतौलको ढक, तराजु र लिटर मापन गर्ने आउने भए पनि यसको समस्या कम गर्न जिल्लाले नै पहल गर्नुपर्ने कार्यालयले जनाएको छ । ‘जिल्लामा रहेका नापतौलमध्ये ६० प्रतिशत नाप नियमसंगत छैनन् र उनीहरुले प्रत्यक्ष रुपमा उपभोक्तालाई ठग्ने गरेका छन् ।’

निरीक्षक पोख्रेलले भने, ‘हामीले यहाँको प्रमुख व्यापारिक केन्द्र र साना बजारमा गरेको अनुगमनमा ४० प्रतिशत नियमसंगत र बाँकी नियमविपरीत भएको पाएका छौं ।’ जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा विभाग पुग्ने भए पनि ग्रामीण क्षेत्रमा नजाने गर्दा यसको समस्या जिल्लाको ग्रामीण बजारमा थप बढी रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।

‘नापतौल विभागबाट नियमित जिल्लामा आउँदैनन्’, उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष माधवराज भण्डारीले भने, ‘नापतौल विभागले हामीसँग कहिले समन्वय गर्दैन ।’ जिल्लामा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन र नापतौल विभागको बीचमा समन्वय नहुँदा समस्या समाधान गर्न थप चुनौती थपिएको सरोकारवालाको बुझाइ छ ।

विभागको क्षेत्रीय कार्यालयले रोल्पाको लिवाङ, सुलिचौर हुँदै प्यूठानका भिगु, नयाँगाउँ, जस्पुर, बिजुवार, बाग्दुला र खलंगाको नापतौल अनुगमन सकाएको छ । प्रत्यक्ष उपभोक्ताको दैनिकीसँग जोडिएको व्यवसाय वा उद्योगले ढक, तराजु तथा लिटर लिएपछि ३५ दिन भित्रमा विभागमा देखाई प्रमाणित गर्नुपर्ने भएपछि जिल्लामा यसो नगर्ने पाइएको छ ।

जिल्लामा यससँगै पेट्रोलियम पदार्थको कारोबार गर्ने पेट्रोलपम्प तथा अवैध रुपमा बोतलमा राखी बिक्री गर्ने कालाबजारीले पनि उपभोक्तालाई प्रत्यक्ष ठग्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । ‘जिल्लाबाट उजुरी नआउँदा हामी कारबाही गर्न नसक्ने अवस्थामा छौं’, अनुगमनका लागि जिल्ला आउएका पोख्रेलले भने, ‘उपभोक्ता सजक बन्नु पर्ने र प्रशासनसँगै उद्योग वाणिज्य संघले समस्यालाई गम्भीर रुपमा हेर्नुपर्छ ।’ जिल्लामा उपभोक्ता दैनिकी रुपमा ठगिन गरे पनि हालसम्म एउटा पनि उजुरी परेको छैन ।

त्यस्तै नापतौल नियमसंगत नहुने र भनेको परिमाणभन्दा कमीको हँुदासमेत सम्बन्धित क्षेत्रले चासो नदिँदा दैनिक उपभोक्ता ठगिने गरेका छन् । गत वर्ष क्षेत्रीय कार्यालयले नापतौलमा ठगी गर्ने २२ व्यावसायिक फर्मलाई कारबाही गरेको थियो । यसपटक पनि उपभोक्तालाई नापतौलमा ठग्नेको अनुगमन गरी कारबाही गरिने तयारी भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us