एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते २:२५ मा प्रकाशित

विराटनगर, २५ मंसिर– दैनिक सयौं बिरामी उपचारका लागि आउने विराटनगरको कोसी अञ्चल अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा परेका छन् ।

अस्पतालमा रहेका दुई वटा एक्स–रे मेसिनमध्ये एउटा दुई वर्षदेखि बिग्रेर थन्किएको छ । न्यून आर्थिक अवस्था भएका बिरामीले उपचार गर्ने अस्पतालमा दैनिक आठ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछ ।

एक्स–रे विभागमा दैनिक दुई सयभन्दा बढी बिरामी एक्स–रे गराउन आउने गर्दछन् । एउटा मात्र मेसिन भएपछि एक्स–रेका लागि आउने बिरामीले फर्किनुपर्ने बाध्यता छ । सम्बन्धित निकायले चासो नदिँदा सर्वसाधारण बाध्य भएर निजीमा महँगो मूल्यमा एक्स–रे गराउन बाध्य छन् ।

अस्पतालमा पूर्वाञ्चलका १६ जिल्लाका तथा भारतीय सीमावर्ती क्षेत्रका बिरामीसमेत उपचारका लागि आउने गर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us