
काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी सचिव वर्षमान पुन ‘अनन्त’ ले वरिष्ठ नेता बाबुराम भट्टराई पार्टी अध्यक्ष हुन सक्ने बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भट्टराईबीच पद बाँडफाँसम्बन्धी भद्र सहमति भएको खबरहरु आइरहेका बेला पुनले निश्चित विधिको विकास गरेर महाधिवेशनबाट पार्टी नेतृत्व बाबुुरामको काँधमा जान सक्ने बताए ।
केही निश्चित नेताहरुबीच त्यसबारे छलफल भएको खुलासा उनले गरे । ‘एउटै नेता जीवनभर पार्टीको मुख्य नेतृत्वमा बसिरहने र त्यो नेता मरेको दिन पार्टी र आन्दोलन सकिने अवस्था आउन सक्छ’, बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग बुधबार उनले भने, ‘२० औं शताब्दीका क्रान्तिको नेतृत्व प्रणालीमा कहाँनेर समस्या भयो त्यो खोजौं भन्ने भएको हो ।’
पुनले नेतृत्व हस्तान्तरणबारे सैद्धान्तिक सहमति भइसकेको भन्दै बाबुराम वा अरु कोही अध्यक्ष हुन सक्ने उल्लेख गरे । बाबुरामले संगठनात्मक र प्रचण्डले वैचारिक–राजनीतिक प्राधिकारसहितको नेतृत्व लिएर जाँदा के हुन्छ भन्ने विषय छलफलमा रहेको स्वीकार गरे ।
‘प्रचण्ड–बाबुुराम दुवै हाम्रा नेता हो । बाबुरामजी अध्यक्ष बन्न सक्नुहुन्छ’, पुनले भने, ‘वैचारिक र संगठनात्मक कार्यविभाजन हुन्छ भन्ने कुरा सिद्धान्तमा मात्र होइन, व्यवहारमा देखाउन चाहन्छौं ।’
शीर्ष तहमा भएको सहमतिअनुसार एक/डेढ वर्षभित्र महाधिवेशन गर्ने र त्यहींबाट विधि र प्रक्रिया निश्चित गरी नेतृत्व हस्तान्तरण थाल्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने तयारी भएको बताए ।
अर्को एक फरक प्रसंगमा उनले तत्काल आफ्नो पार्टीलाई वैचारिक, राजनीतिक र सांगठिनक रुपले एक ठाउँमा पुर्याएपछि मोहन वैद्य र नेत्रविक्रम चन्दसहित विभिन्न समूहमा छरिएका माओवादीहरुलाई एकताबद्ध गरेर अघि बढ्ने नीति रहेको जनाए ।