सिन्धुली, २४ मंसिर– नेकपा–माओवादीका सचिव रामबहादुर थापा ‘बादल’ ले एमाओवादीसँग पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
सिन्धुलीमाढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले एउटा कुरा मिल्ने बित्तिकै पार्टी एकता हुने बताए । ‘हामीले पार्टी एकताका लागि ६ वटा आधार पेस गरेका थियौ’, थापाले भने, ‘अरु सबैमा मिलिसकेको छ, एउटा विषयमा कुरा मिल्ने बित्तिकै एकता हुन्छ ।’
६ बुँदेको दोश्रो बुँदामा रहेको क्रान्तिको रणनीतिका बारेमा कुरा मिल्न बाँकी रहेको जानकारी उनले दिए । उनले ८ माघमा संविधान जारी हुने सम्भावना नरहेको दोहोर्याए । उनले आफूहरुको सहमतिबिना जारी गरिएको संविधान जलाउने चेतावनी दिए ।
उनले संविधनसभा जनताको नभई दलालहरुको नियन्त्रणमा गएको आरोप लगाए । अर्को एक फरक प्रसंगमा उनले नेत्रविक्रम चन्दले व्यक्तिगत रिसिइबीका कारण आवेगमा आएर पार्टी छाडेको टिप्पणी गरे ।