विदेशिएका ३५ लाख युवा फर्काउने प्रधानमन्त्रीको सपना

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १०:५४ मा प्रकाशित

पोखरा, २४ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले विदेशिएका युवाहरुलाई स्वेदश फर्काउने गरी आर्थिक क्रान्ति हुने विश्वास व्यक्त गरेका छन् । उनले देशमा विकासको ढोका खुलिसकेकाले दश वर्षभित्र विकासको कायपलट हुने दाबी गरे ।

sushil

नेपाल पर्वतारोहण सङ्घ पोखराले आजदेखि रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु गरेको तीनदिने पर्वतीय महोत्सवको शुभारम्भ गर्दै प्रधानमन्त्री कोइरालाले देशमा आर्थिक क्रान्ति गरी विदेशिएका ३०÷३५ लाख युवालाई स्वदेशमै फर्काएर काम दिने वातावरण बन्ने बताए ।

छिमेकी मुलुकहरुसँग ठूला जलविद्युत् आयोजनाको सम्झौता गर्दा नेपाल तल पर्ने गरी राष्ट्रिय हित विपरीत कुनै निर्णय नगरेको स्पष्ट गर्दै सडक, विद्युत्, खानेपानी, शिक्षा, पर्यटनजस्ता हरेक क्षेत्रको विकास अघि बढेको उनको भनाइ थियो ।

बाहिर जेसुकै कुरा आए पनि आगामी माघ ८ गते नै नयाँ संविधान जारी हुनेमा कुनै सन्देह नरहेको स्पष्ट गर्दै प्रधानमन्त्री कोइरालाले यसका लागि चारवटै पार्टीका शीर्ष नेताबीच छलफल भइरहेको र छिट्टै नै एउटा सकारात्मक निर्णय आउने बताए ।
‘अब कसैले पनि कुनै किसिमको आन्दोलन र अशान्ति मच्चाएर हिँड्नु पर्दैन, सबै जातजाति, वर्ग र समुदायको हक सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री कोइरालाले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण भएपछि विदेशी पर्यटकको सङ्ख्यामा अत्यधिक वृद्धि हुने बताए ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले महोत्सवको महत्वमाथि प्रकाश पारेका थिए । महोत्सव यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us