जहाँ एक गाग्रो पानी लिन तीन घन्टा धाउनुपर्छ

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १०:३७ मा प्रकाशित

खोटाङ, २४ मंसिर– उत्तरी गाविस बडकादियालेस्थित बगैँचा गाउँमा खानेपानीको हाहाकार भएको छ । नजिकैका धारा तथा कुवा सुकेपछि वडा नम्बर–५ मा पर्ने बगैँचा गाउँका नौ घर दलितसहित १७ घरपरिवारमा विगत दुई वर्षदेखि खानेपानीको समस्या भएको हो ।

Gagro

गाउँको नजिकमा रहेका धारा तथा कुवा सुकेपछि तीन घन्टा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय रीता नेपालीले बताइन् । उनले भनिन्, ‘खानेपानी लिनकै लागि एक जनाको बिहान जान्छ, यसले गर्दा विशेषगरी केटाकेटीको पढाइमा असर पुगेको छ ।’

नौ घर दलितसँगै चार घर श्रेष्ठ र चार घर कार्की परिवार बसोवास गर्ने उक्त गाउँमा हालसम्म कुनै योजना नपरेको स्थानीय सन्तोष सुयलले बताए । उनले भने, ‘मान्छेले त जसोतसो बोकेरै भए पनि खाइन्थ्यो, गाईवस्तुलाई समेत गाग्रोमा बोकेको पानी खुवाउनु पर्दा ज्यादै समस्या भएको छ ।’

त्यस क्षेत्रमा एउटा मात्र कुवा भएकाले बिहान सबेरै नगए पानी नपाइने स्थानीयको भनाइ छ । आफूहरुको यत्तिका समस्या हुँदाहुँदै पनि कसैको ध्यान नपुगेको उनीहरुको गुनासो छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us