प्रदेश सभालाई नाम राख्न दिने सहमति भएको छैन: प्रचण्ड

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ६:२१ मा प्रकाशित

_MG_1517काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलहरुबीच प्रदेश सभाको नाम र निर्वाचन प्रणालीबारे सहमति भएको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन् ।

राष्ट्रपति रामवरण यादवसँग मुलुकको पछिल्लो अवस्था र संविधान निर्माण प्रक्रियाबारे छलफल गरेर बाहिरिने क्रममा शीतलनिवासमा सञ्चारकर्मीसँग उनले छलफल भए पनि कुनै सहमति नभएको बताए ।

मधेसी मोर्चासहित प्रमुख तीनका शीर्ष नेताको बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रदेशको नाम सम्बन्धित प्रदेशले नै राख्ने गरी माघ ८ मै संविधान जारी गर्ने सहमति भएको बताइएको थियो ।

काँग्रेस–एमाले नेताले चार राजनीतिक शक्तिबीच मिश्रित निर्वाचन प्रणालीमा सहमति भएको दाबी गरेका थिए । ‘संविधान निर्माणका सन्दर्भमा छलफल भइरहेको छ’, प्रचण्डले भने, ‘तर हिजो बालुवाटारमा जसरी सहमति भयो भन्ने समाचार एकाएक बाहिर आयो, त्यो सत्य होइन ।’

राष्ट्रपतिसँग करिब पौने घण्टा भएको कुराकानीमा संविधान निर्माण प्रक्रिया र त्यसमा देखिएका जटिलताबारे कुराकानी भएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपतिले शान्ति प्रक्रियाको एक मात्र हस्ताक्षरकर्ताका हैसियतमा संविधान निर्माण प्रक्रियामा दलहरुलाई मिलाएर अघि बढ्न राष्ट्रपतिले प्रचण्डलाई सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us