
नेपालगञ्ज– २४ मंसिर– महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बाँकेमा एक श्रीमानले यौन सम्पर्क गर्न नमानेको भन्दै श्रीमतिको यौनाङ्गमा फलामे रड कोचिदिएका छन् ।
नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयका कर्मचारी लोकेन्द्र गिरीले शारीरिक सम्पर्क गर्न नमानेको भन्दै ४५ वर्षीया पत्नि तारादेवी देवकोटामाथि त्यस्तो दुव्र्यवहार गरेका हुन् ।
‘बूढी भइसकें, मलाई मन छैन, सक्दिन भन्दा कपडा खोलेर जवर्जस्ती फलामे रड कोचे’, उनले स्थानीय सञ्चारकर्मीसँग भनिन्, ‘बल्लतल्ल भागेर ज्यान जोगाएँ ।’ उनले श्रीमानले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिने गरेको उल्लेख गरिन् ।
कोहलपुरस्थित आरसी टोलमा डेरामा बस्दै आएकी उनले ज्यानै जोगाउन गाह्रो भएपछि डेरा छाडेकी छन् ।
यसैबीच पीडितले गिरीमाथि कारबाही र ज्यानको सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएकी छन् ।
उजुरीपछि गिरीलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।