
तनहुँ, २४ मंसिर– तनहुँको आँबुखैरेनी गाविस–५ स्थित भीमसेन होटलमा बास बसेका एक व्यक्ति बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएका छन् ।
गोरखाको तान्द्राङ गाविस–९ काउले निवासी वर्ष ४५ का हरिप्रसाद बन्जारा मङ्गलबार मृत अवस्थामा भेटिएका हुन् ।
मंसिर २१ गते कुखुराको चल्ला लिन भनी घरबाट हिँडेका बन्जारा सोमबार राति १० बजेको समयमा उक्त होटलमा आई मलाई अलि सञ्चो भएन भन्दै बास बस्न आग्रह गरेपछि बास बस्न दिएको होटल मालिक ज्ञानु गुभाजुले बताएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान १० बजेसम्म पनि ढोका नखोलेपछि र बोलाउँदा पनि नबोलेपछि प्रहरीमा खबर गरेको र तत्काल प्रहरी आई जस्ताको छाना खोलेर हेर्दा बन्जारा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
मृतकका दाजु भोजप्रसाद बन्जाराले भाइको अवस्थाबारे मङ्गलबार ११ बजे मात्रै थाहा पाएको बताए । उनले भने, ‘भाइ उच्च रक्तचापको बिरामी भएकाले स्वाभाविक मृत्यु भएको हुन सक्छ ।’
मृतकको शव आज परीक्षण गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
रासस