प्रचण्ड र बाबुराम मिलेपछि किन आयो नारायणकाजीलाई ज्वरो ?

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ५:४० मा प्रकाशित

NARAYAN KAJI 1काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीच अस्थायी युद्धविराम भएको विषयले पार्टीभित्रै तरंग पैदा गराएको छ ।
प्रचण्ड र बाबुरामबीच केही समयअघि पद बाँडफाँडमा कुरा मिलेपछि लफडा केही सल्टिएको ठानिएका बेला उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रुष्ट भएका हुन् ।

सहमति गर्नुअघि दुई नेताबीच पटकपटक भएका छलफलमा आफूलाई सहभागी नगराइएको भन्दै श्रेष्ठ रुष्ट भएको श्रोतले जनाएको छ । आसन्न महाधिवेशनबाट प्राधिकारसहितको वैचारिक नेतृत्व प्रचण्डले गर्ने र सांगठनिक नेतृत्व बाबुरामले गर्ने समझदारी दुई नेताबीच बनेको छ ।

दुई नेताबीचको समझदारी अनुमोदनका लागि आगामी मंसिर २८ गतेबाट केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

‘पार्टीको निर्णय प्रक्रियामा उहाँ (श्रेष्ठ) लाई बाइकट गरिएकामा हाम्रो गम्भीर सहमति र आपत्ति छ’, श्रेष्ठ निकट एक नेताले काठमाण्डु टुडेसँग भने, ‘दुई नेताबीचको कानेखुसीलाई पार्टीकै सहमति मान्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आएको छ ।’

उनले पार्टी विवाद समाधानको प्रयासमा लगातार सक्रिय रहेका श्रेष्ठसहित पोलिट्ब्युरो र स्थायी समितिलाई बाइकट गरेर भएको गुपचुप सहमति केन्द्रीय समितिको बहुमतले अस्वीकार गर्ने दाबी गरे ।

स्रोतका अनुसार आगामी केन्द्रीय समितिले प्रचण्ड र बाबुरामबीच एक वर्षभित्र विशेष महाधिवेशन गर्ने र त्यतिबेला सम्मका लागि प्रचण्डलाई अध्यक्ष राखेर बाँकी सबै केन्द्रीय सदस्य मात्र रहने गरी आयोजक समिति गठन गर्नेछ ।

महाधिवेशनमा बाबुरामले प्रचण्डलाई सर्वमान्य नेता र प्रचण्डले बाबुरामलाई अध्यक्ष प्रस्ताव गर्ने भद्र सहमति भएको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us