
उदयपुर, २४ मंसिर– राजधानी काठमाण्डुका पसलमा मोबाइल तथा ल्यापटप चोरी गरेर फरार हुनेहरू उदयपुर जिल्लाको कटारीमा पक्राउ परेका छन् ।
काठमाण्डुका विभिन्न स्थानमा चोरी गर्ने विभिन्न गिरोहमध्ये कटारीमा आई लुकीछिपी बसेको अवस्थामा मंगलबार तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख सरोज पौडेलले बताए ।
पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–७ बस्ने १६ वर्षीय रुपेश कार्की, सोही स्थान बस्ने २० वर्षीय विक्रम बस्नेत र अर्का कटारी–७ कै युवराज कार्की रहेका छन् ।
कार्कीबाट काठमाण्डुमा चोरी गरेको रु २५ हजार बराबरको जेटी मोबाइल बरामद भएको छ भने बस्नेतबाट सोनी कम्पनीको रु ६० हजारको एक ल्यापटप र अर्का युवराज कार्कीबाट रु ५५ हजार बराबरको आइट्याब मोबाइल बरामद गरिएका छन् ।
कटारी घर भई काठमाण्डु डेरा गरी बस्दै आएका अभियुक्तहरूबाट रु एक लाख ५० हजार बराबरको चोरीको सामान पनि बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी परिषद् काठमाण्डुको विशेष सूचनाका आधारमा उनीहरूलाई कटारीमा आई लुकीछिपी बसेको अवस्थामा प्रहरीको विशेष टोलीले पक्राउ गरेको र पक्राउ परेकालाई काठमाण्डु नै पठाउन लागेको इप्रकाका प्रमुख पौडेलले बताए ।
रासस